रास्वपाको नयाँ अभ्यास : केहीलाई औडाह, केहीलाई आशा
चुनाव जितेपछि गाउँ–ठाउँमा भोजभतेर गरेर रमाइलो गर्ने र शक्ति प्रदर्शन गर्ने पुरानो परम्परामा अभ्यस्त राजनीतिक संस्कारबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फरक अभ्यास सुरु गरेको छ, जसले नेपाली राजनीतिमा नयाँ बहस जन्माएको छ। पार्टीले विजयी उत्सवभन्दा पनि सांसदहरूको क्षमता अभिवृद्धि, आचरण र जिम्मेवारीबारे प्रशिक्षणमा जोड दिएको छ, जुन अभ्यास धेरैका लागि नौलो र चासोको विषय बनेको छ।
संसद जस्तो गरिमामय संस्थामा कसरी प्रस्तुत हुने, जनताका मुद्दालाई कसरी प्रभावकारी र विधिसम्मत ढंगले उठाउने, तथा सांसदको भूमिकालाई कसरी जिम्मेवार बनाउने भन्ने विषयमा केन्द्रित कार्यक्रमले केही राजनीतिक वृत्तमा असहजता पनि सिर्जना गरेको छ। लामो समयदेखि संसदमा अवरोध, होहल्ला र व्यक्तिगत आरोप–प्रत्यारोपलाई सामान्य अभ्यास बनाउँदै आएका केही पात्रहरूका लागि यस्तो अनुशासनमुखी अभ्यास अपच भएको टिप्पणी गरिएको छ।
राजनीतिलाई सेवा र जिम्मेवारीभन्दा पनि शक्ति प्रदर्शनको माध्यमका रूपमा लिने प्रवृत्तिमाथि प्रश्न उठाउँदै रास्वपाले नयाँ शैली अघि सारेको देखिन्छ। पार्टीभित्र सञ्चालन भइरहेको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमले सांसदहरूलाई मर्यादित व्यवहार, प्रभावकारी प्रस्तुति र नीतिगत बहसमा केन्द्रित गराउने लक्ष्य राखेको छ।
यसबीच, पुरानो ढर्रामा अभ्यस्त शक्तिहरूले यसलाई आलोचना गरे पनि, धेरैले यसलाई सकारात्मक परिवर्तनको संकेतका रूपमा लिएका छन्। नागरिक स्तरमा पनि संस्कारयुक्त, जवाफदेही र परिणाममुखी राजनीतिप्रतिको अपेक्षा बढ्दै गइरहेको अवस्थामा यस्तो अभ्यासलाई स्वागतयोग्य मानिएको छ।
संस्कार, अनुशासन र उत्तरदायित्वमा आधारित राजनीति नै समयको माग भएको उल्लेख गर्दै पर्साका कार्यवाहक सभापति तुलसा अधिकारी ले यस्तो अभ्यासलाई निरन्तरता दिने संकेत गरेकी छन्।

