जिल्ला प्रहरी कार्यालय पर्सालाई ६३० पिस सेनेटरी प्याड हस्तान्तरण
वीरगञ्ज, २९ वैशाख — सामाजिक सेवामा सक्रिय संस्था वीरगञ्ज लेडिज सर्कलले जिल्ला प्रहरी कार्यालय पर्साको महिला, बालबालिका सेवा तथा ज्येष्ठ नागरिक कक्षलाई ६३० पिस सेनेटरी प्याड हस्तान्तरण गरेको छ।
महिलाहरूको स्वास्थ्य, सरसफाइ तथा आवश्यक सामग्रीको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ। हस्तान्तरण कार्यक्रममा प्रहरी कार्यालयका प्रतिनिधिहरू तथा वीरगञ्ज लेडिज सर्कलका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सहभागीहरूले यस्ता सामाजिक तथा मानवीय सहयोगले महिला तथा बालबालिकाको स्वास्थ्य र आत्मविश्वास अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने बताएका थिए। जिल्ला प्रहरी कार्यालय पर्साले समेत संस्थाद्वारा गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहकार्यले सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

