‘किताबसँगै प्रयोगशाला, प्रयोगसँगै अनुसन्धान’ : जेन–जी पर्साका संयोजक विशेष साहको पहल
काठमाडौं । जेन–जी पर्साका संयोजक विशेष साहले सरकारी विद्यालय तथा कलेजमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन आधुनिक प्राक्टिकल ल्याब र रिसर्च सेन्टर विस्तार गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँगको भेटमा साहले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी प्रयोग र अनुसन्धानमार्फत सिक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।
मास्टर्स इन साइन्स (एनालिटिकल केमिस्ट्री) अध्ययन गरेका साहले प्रयोगात्मक ज्ञान विद्यार्थीको आवश्यकता मात्र नभई अधिकारसमेत भएको बताए। उनले पर्सासहित देशभर आधुनिक प्रयोगशाला तथा अनुसन्धान केन्द्र स्थापनाका लागि पहल गर्नुपर्ने प्रस्ताव मन्त्री पुनसमक्ष राखेका हुन्।
साहका अनुसार मन्त्री पुनले स्थानीय तहले ल्याब निर्माण तथा सञ्चालनका लागि बजेट छुट्याएर अघि बढे संघीय सरकारबाट समेत आवश्यक सहयोग गर्ने सकारात्मक प्रतिबद्धता जनाएका छन्।
साहले पर्साका स्थानीय तहसँग सहकार्य गरी ‘किताबसँगै प्रयोगशाला, प्रयोगसँगै अनुसन्धान’ को वातावरण निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

