छोरीको कानुनी विवाह छुटाउन प्रहरीमाथि दबाब, रास्वपा धनुषा सभापति निलम्बित
जनकपुरधाम। छोरीले आफ्नै इच्छाले गरेको कानुनी विवाह छुटाउन प्रहरीमाथि दबाब दिएको र प्रहरी प्रमुखविरुद्ध सार्वजनिक कार्यक्रममा आरोप लगाएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका सभापति लक्ष्मेश्वर यादव निलम्बनमा परेका छन्।
यादवले आफ्नी छोरी हराएको भन्दै गत असोज १७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा खोजतलासका लागि निवेदन दिएका थिए। प्रहरीले अनुसन्धानका क्रममा ती महिला काठमाडौं जिल्ला अदालतबाट कानुनी विवाह गरेर गएको प्रमाण फेला पारेको थियो।
प्रहरीका अनुसार विवाह गर्ने महिला २७ वर्ष र युवक २३ वर्षका छन्। दुवै जना विवाहका लागि कानुनी उमेर पुगेका र आपसी सहमतिमा विवाह गरेको देखिएपछि प्रहरीले युवकलाई पक्राउ गर्न अस्वीकार गरेको थियो।
प्रहरीले कानुनी प्रक्रिया अनुसार विवाह भएको जानकारी गराउँदा पनि विवाह छुटाउन र युवकलाई पक्राउ गर्न दबाब आएको प्रहरीको भनाइ छ।
यसै विषयलाई लिएर रास्वपा धनुषाका सभापति यादवले एक सार्वजनिक कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी रुपेश खड्कामाथि गम्भीर आरोप लगाउँदै एक साताभित्र सरुवा गर्न माग गरेका थिए। उनले प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाउँदै आर्थिक लेनदेनसम्बन्धी आरोपसमेत लगाएका थिए।
एसपी खड्काले भने आफू र प्रहरी संगठनमाथि लगाइएका आरोपलाई आपत्तिजनक, भ्रामक र तथ्यहीन भन्दै विज्ञप्तिमार्फत खण्डन गरेका छन्। उनले आरोप प्रमाणित गर्न चुनौती दिँदै अपुष्ट सामग्री सामाजिक सञ्जालमा नफैलाउन आग्रह गरेका छन्।
घटनापछि रास्वपा मधेश प्रदेश कार्यालयले सभापति यादवलाई निलम्बन गर्दै तीन दिनभित्र पाँच बुँदामा लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। प्रहरी प्रमुखमाथिको अभिव्यक्ति, पारिवारिक मामिलामा पदको दुरुपयोग गरेको आरोप, प्रहरी घेराउ गर्ने धम्की तथा पार्टीको आचारसंहिता विपरीतका गतिविधिबारे जवाफ मागिएको छ।
तोकिएको समयभित्र स्पष्टीकरण नबुझाए वा जवाफ चित्तबुझ्दो नभए पार्टी विधानअनुसार थप कारबाही गरिने पत्रमा उल्लेख छ। साथै, तीन दिनभित्र जिल्ला पार्टी कार्यालयको साँचो कार्यवाहक सभापतिलाई बुझाउन पनि निर्देशन दिइएको छ।
कानुनी विवाह र राजनीतिक दबाबको यो घटनाले व्यक्तिगत स्वतन्त्रता, कानुनी प्रक्रिया र राजनीतिक पदको जिम्मेवारीबारे बहस उठाएको छ।

