माओलाई ‘तानाशाह’ भनेपछि विवादमा एमबाप्पे, फ्रान्सेली फुटबल महासंघ प्रमुखले गरे बचाउ
काठमाडौं । चीनका पूर्वनेता माओत्सेतुङलाई ‘तानाशाह’ भनेपछि विवादमा परेका फ्रान्सेली फुटबल स्टार केलियन एमबाप्पेको पक्षमा फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) का प्रमुख फिलिप डायलो उभिएका छन्।
डायलोले एमबाप्पेले आफ्नो टिप्पणीबारे स्पष्ट पार्दै माफीसमेत मागिसकेको अवस्थामा विवादलाई थप लम्ब्याउन नहुने बताएका छन्। अब उनलाई खेलमा ध्यान केन्द्रित गर्ने वातावरण दिनुपर्ने उनको भनाइ छ।
फ्रान्सेली सञ्चारमाध्यम ओएस्ट फ्रान्ससँग कुरा गर्दै डायलोले एमबाप्पेको टिप्पणी कुन सन्दर्भमा आएको थियो भन्ने स्पष्ट भइसकेको उल्लेख गरेका छन्।
एमबाप्पेको विवादास्पद टिप्पणीपछि चीनमा उनको आलोचना चर्किएको छ। चिनियाँ समर्थकहरू असन्तुष्ट बनेका छन् भने उनको व्यावसायिक सम्बन्धमा समेत असर परेको बताइएको छ।
विवाद बढ्दै गएपछि चिनियाँ कम्पनीहरू मेङ्निउ, सांघाई मिल्कग्राउन्ड फुड टेक र इस्ट्रोक बेभरेजले एमबाप्पेसँगको सहकार्य रोकेको समाचार सार्वजनिक भएको छ। त्यस्तै, चिनियाँ सञ्चारमाध्यमले पनि उनको टिप्पणीप्रति असन्तुष्टि जनाएका छन्।
यसैबीच, रियल म्याड्रिड र स्पेनिस फुटबल लिग ला लिगाले समेत उक्त टिप्पणीप्रति माफी मागेका छन्। ला लिगाका अध्यक्ष जेभियर टेबासले चिनियाँ राजदूत याओ जिङसँग भेटघाटसमेत गरेका छन्।
एक पोडकास्टमा सार्वजनिक भएको भिडियोमा एमबाप्पेले एउटा मीमबारे टिप्पणी गर्दै माओलाई चिनियाँ तानाशाह भनेका थिए। उक्त अभिव्यक्ति चीनमा संवेदनशील विषय बनेपछि विवाद अन्तर्राष्ट्रियस्तरमा फैलिएको हो।
चीनको विदेश मन्त्रालयका प्रवक्ताले समेत एमबाप्पेले मागेको माफीलाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्।
यस घटनाले विश्व फुटबलका चर्चित खेलाडीहरूको सार्वजनिक अभिव्यक्तिले खेलकुदसँगै अन्तर्राष्ट्रिय बजार र व्यावसायिक साझेदारीमा समेत प्रभाव पार्न सक्ने देखाएको छ।
