उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी अधिकृतहरू सम्मानित, एसएसपी रमेश थापासहितको टोली पुरस्कृत
काठमाडौं – काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाभित्र उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकृत तथा कर्मचारीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्कीले काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापासहित उनको नेतृत्वमा रहेका प्रहरी कर्मचारीहरूको टोलीलाई विशेष रूपमा सम्मान गर्दै पुरस्कार प्रदान गर्नुभएको हो।
कार्यक्रममा बोल्दै एआईजी कार्कीले काठमाडौं जिल्लाभित्र शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै एसएसपी थापा नेतृत्वको टिमको प्रशंसा गर्नुभयो। उहाँले प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरी संगठनको गरिमा उच्च राख्न सफल भएको बताउनुभयो।
काठमाडौं जिल्लाभित्र घटेका विभिन्न आपराधिक घटनाको सफल अनुसन्धान, अपराध रोकथाम तथा नियन्त्रणमा उत्कृष्ट योगदान पुर्याउने प्रहरी कर्मचारीहरूलाई प्रोत्साहनस्वरूप पुरस्कृत गरिएको कार्यालयले जनाएको छ।
एआईजी कार्कीले पुरस्कार प्रदान गर्दै भन्नुभयो, “उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई सम्मान गर्दा समग्र प्रहरी संगठनको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्छ। यसले प्रहरीको मनोबल बढाउँछ र अन्य कर्मचारीहरूलाई पनि राम्रो काम गर्न प्रेरित गर्छ।”
उहाँले पुरस्कृत हुनु भनेको निष्ठा, कर्तव्यपरायणता र व्यावसायिकताको सही मूल्याङ्कन भएको उल्लेख गर्दै आगामी दिनमा अझ बढी लगनशील भई काम गर्न निर्देशन दिनुभयो। साथै पुरस्कार नपाएका कर्मचारीहरूलाई पनि निराश नहुन आग्रह गर्दै धैर्य र इमानदारीपूर्वक काम गरे भविष्यमा अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा पुरस्कृत प्रहरी कर्मचारीहरूले आफूहरूलाई दिइएको सम्मानले थप जिम्मेवार र कर्तव्यनिष्ठ भएर काम गर्न हौसला मिलेको प्रतिक्रिया दिएका थिए।
उपत्यका प्रहरी कार्यालयले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई निरन्तर प्रोत्साहन गर्ने नीति अनुसार यो सम्मान कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

