निर्वाचन प्रहरीलाई सम्मान तथा प्रमाणपत्र वितरण
वीरगञ्ज — प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका निर्वाचन प्रहरीहरूलाई सम्मान गरिएको छ। पर्सा जिल्लामा निर्वाचन अवधिभर खटिएर सुरक्षा व्यवस्थापनमा योगदान पुर्याएका प्रहरीहरूलाई प्रमाणपत्र प्रदान गर्दै बिदाइ गरिएको हो।
कार्यक्रममा पर्साका प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन निर्वाचन प्रहरीले जिम्मेवारीपूर्वक काम गरेको भन्दै उनीहरूप्रति उच्च सम्मान व्यक्त गरे। उनले निर्वाचन जस्तो संवेदनशील कार्यलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सबैलाई धन्यवाद दिएका थिए।
करिब ४० दिनसम्म जिल्लाका विभिन्न स्थानमा खटिएका निर्वाचन प्रहरीहरूले मतदान केन्द्रको सुरक्षा, मतपेटिका ढुवानी, मतगणना स्थलको सुरक्षा लगायतका जिम्मेवारी सम्हालेका थिए। कार्यक्रममा उनीहरूको योगदानको कदर गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो।

