पर्सामा निर्वाचन प्रहरीलाई धन्यवादसहित बिदाइ कार्यक्रम सम्पन्न
वीरगञ्ज, २८ फागुन २०८२ — जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सफल र भव्य रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेका निर्वाचन प्रहरीहरूलाई धन्यवाद ज्ञापन गर्दै बिदाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल प्रहरीको सहायकका रूपमा खटिएका निर्वाचन प्रहरीहरूको योगदानको उच्च प्रशंसा गरिएको थियो।
पर्साका जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु कार्कीले निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण पर्सावासीलाई पनि धन्यवाद व्यक्त गरे। उनले निर्वाचनको क्रममा सुरक्षा व्यवस्था मजबुत बनाउँदै जिम्मेवारीपूर्वक काम गर्ने प्रहरीहरूका कारण पर्सामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको बताए।
जिल्ला पर्सामा करिब ४० दिनसम्म निर्वाचन सुरक्षामा खटिएका प्रहरीहरूलाई बिदाइ गरिएको हो। शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन उनीहरूले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै सम्मानसहित बिदाइ गरिएको जनाइएको छ।
कार्यक्रम ईलाका प्रहरी कार्यालय पोखरियामा आयोजना गरिएको थियो, जहाँ निर्वाचनमा खटिएका प्रहरीहरूलाई धन्यवादसहित सम्मान प्रकट गरिएको थियो।

