सरकारी बोर्डमा मोबिल छर्किने दुई जना पक्राउ, विवादपछि तोडफोड प्रयास
पर्सामा सरकारी कार्यालयको बोर्डमा मोबिल छर्की फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–२३ स्थित पूर्वाधार विकास कार्यालय पर्सामा विकास योजनासम्बन्धी विषयमा कर्मचारी राम प्रवेश यादवसँग विवाद भएपछि उनीहरूले कार्यालयको बोर्डमा मोबिल छर्किएको प्रहरीले जनाएको छ।
कार्यालय प्रमुखले दिउँसो करिब २:३० बजे वडा प्रहरी कार्यालय श्रीपुरमा टेलिफोनमार्फत जानकारी गराएलगत्तै प्रहरी टोली परिचालन गरिएको थियो। सोही क्रममा घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा वीरगञ्ज–११ का ३३ वर्षीय जयपुजन ठाकुर लोहार र वीरगञ्ज–१३ राधेमाईका ३० वर्षीय मनमोहन पाण्डे रहेका छन्।
प्रहरीका अनुसार घटनामा संलग्न दुवै जनामाथि थप अनुसन्धान जारी रहेको छ। प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

