तस्करीको समाचार लेखेको प्रतिशोधमा वीरगञ्जमा तीन पत्रकारमाथि ज्यानलेवा आक्रमण
वीरगञ्ज, जेठ ३० – नेपाल–भारत सीमा क्षेत्रमा भइरहेको तस्करीसम्बन्धी समाचार संकलन गरी फर्किरहेका तीन पत्रकारमाथि वीरगञ्जमा मध्यराति ज्यानलेवा आक्रमण भएको छ। घटनाप्रति नेपाल पत्रकार महासंघ पर्सा शाखा र हिन्दू पत्रकार संघ नेपालले कडा आपत्ति जनाउँदै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्।
गत शुक्रबार राति करिब १२:४० बजे वीरगञ्ज महानगरपालिका–१० सिर्सिया सडकखण्डमा पत्रकार सञ्जय कुशवाहा, रवि वर्णवाल र दिशानिर्देश अनलाइनका पत्रकार रुस्तम अलीमाथि १०–१२ जनाको समूहले आक्रमण गरेको आरोप छ। पीडितका अनुसार तस्करीसम्बन्धी समाचार प्रकाशन गरेको विषयलाई लिएर उनीहरूलाई कुटपिट गर्नुका साथै मोबाइल फोन, नगद रकम र सुनको सिक्रीसमेत लुटिएको थियो। आक्रमणकारीहरूले ज्यान मार्ने धम्कीसमेत दिएको बताइएको छ।
पत्रकार महासंघ र हिन्दू पत्रकार संघले घटनालाई प्रेस स्वतन्त्रतामाथिको ठाडो आक्रमण भन्दै मुख्य योजनाकारसहित सबै दोषीलाई पक्राउ गरी निष्पक्ष छानबिन गर्न सरकार र सुरक्षा निकायसँग माग गरेका छन्। दोषीलाई कानुनी दायरामा नल्याइए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको अनुसन्धान अघि बढाइएको जनाएको छ। प्रहरीका अनुसार घटनास्थलका सिसिटिभी फुटेज संकलन गरी संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र पारिएको छ। सञ्चार क्षेत्रले पत्रकारको सुरक्षा सुनिश्चित गर्दै दोषीमाथि शीघ्र कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

