अपराध अनुसन्धानमा अब्बल एसएसपी सन्तोष खड्काको जिम्मेवारी
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व सम्हाले
काठमाडौं — अपराध अनुसन्धान क्षेत्रमा अब्बल मानिएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्तोष खड्काले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन्। उनले औपचारिक रूपमा कार्यालयमा पदभार ग्रहण गरेका हुन्।
नेपाल प्रहरी संगठनभित्र इमानदार, दक्ष र परिणाममुखी अधिकृतका रूपमा चिनिएका एसएसपी खड्काले यसअघि पनि विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर उल्लेखनीय कार्यसम्पादन गर्दै आएका छन्। विशेषतः अपराध अनुसन्धान क्षेत्रमा गहिरो ज्ञान र अनुभव हासिल गरेका उनले देशकै चर्चित तथा जटिल अपराध घटनाहरूको अनुसन्धानको नेतृत्व गर्दै सफल नतिजा दिलाएका छन्।
पदभार ग्रहणपछि एसएसपी खड्काले मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई अनुशासन, आचरण र व्यवहारमा थप सुधार ल्याउन निर्देशन दिएका छन्। साथै उनले कानूनको परिधिमा रहेर जनचाहनाअनुसारको प्रभावकारी प्रहरी सेवा प्रदान गर्दै अपराधमुक्त समाज निर्माणका लागि अहोरात्र खटिनुपर्नेमा जोड दिएका छन्।
उनको नेतृत्वसँगै काठमाडौं उपत्यकामा अपराध अनुसन्धानलाई थप प्रभावकारी, व्यावसायिक र जनमैत्री बनाउने अपेक्षा गरिएको छ।

