- विकासप्रति निराश मतदाता : रिजालमाथि बढ्दै असन्तोष
पर्सा – नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश रिजालले पर्साको छिपहरमाई गाउँपालिका वडा नं. १ मा घरदैलो कार्यक्रम गर्दै मतदाता भेटघाट गरेका छन्। लामो समयदेखि सक्रिय राजनीतिमा रहेका रिजाल पटक–पटक सांसद र मन्त्री भइसकेका नेता हुन्। तर आफ्नै निर्वाचन क्षेत्रमा अपेक्षित विकास गर्न नसकेको भन्दै स्थानीय मतदातामा तीव्र असन्तोष देखिएको छ।
भेटघाटका क्रममा रिजालले पार्टीको नीति, आगामी योजना र विकासका एजेन्डा मतदातासामु राखेका थिए। तर स्थानीयवासीले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र रोजगारीका अवसर जस्ता आधारभूत क्षेत्रमा कुनै ठोस परिवर्तन महसुस नगरेको गुनासो व्यक्त गरे।
एक स्थानीय मतदाताले आक्रोश व्यक्त गर्दै भने, “उहाँ धेरै पटक जित्नुभयो, मन्त्री पनि बन्नुभयो, तर हाम्रो गाउँको अवस्था आज पनि उस्तै छ। यसपालि हामी परिवर्तन चाहन्छौं।”
कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति भए पनि आम मतदाताको मन जित्न रिजाललाई सहज देखिएन। स्थानीय तहमा देखिएको यो असन्तोषका कारण आगामी निर्वाचनमा रिजालका लागि कडा प्रतिस्पर्धा र चुनौती थपिने राजनीतिक विश्लेषकहरूको अनुमान छ।

