पर्सा–३ मा रूपेश पाण्डेविरुद्ध दुष्प्रचारको आरोप, आफू कालोसूचीमा नरहेको दाबी
वीरगञ्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल तातेको छ। परिवर्तनको एजेन्डासहित मैदानमा उत्रिएका नेकपा एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेविरुद्ध सुनियोजित रूपमा भ्रम फैलाइएको आरोप लगाइएको छ।
फागुन २१ गते हुने निर्वाचनअघि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत आफूलाई बदनाम गर्ने उद्देश्यले झूटा आरोप फैलाइएको पाण्डेको दाबी छ। शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू कुनै पनि बैंकको कालोसूचीमा नरहेको स्पष्ट पारे।
उनले व्यवसायिक कारोबारका क्रममा बैंकसँग लेनदेन हुनु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै केही समय ब्याज भुक्तानीमा ढिलाइ भए पनि सबै दायित्व हाल पूरा भइसकेको बताए। “म कुनै पनि बैंकको कालोसूचीमा छैन,” उनले भने।
पाण्डेका अनुसार कहिले “अमेरिकाको ग्रिन कार्ड” त कहिले “बैंकको कालोसूची” जस्ता विषय उठाएर आफ्नो छवि धूमिल पार्ने प्रयास भइरहेको छ। जनताको विश्वास जित्न नसक्नेहरूले भ्रम र षड्यन्त्रको राजनीति गरेर सफलता हासिल गर्न नसक्ने उनको भनाइ छ।
यसैबीच, एनआईसी एशिया बैंकको कालोसूचीमा परेको भन्ने आरोपप्रति पनि उनले अस्वीकार गरेका छन्। उनका समर्थकहरूले आर्थिक विषयलाई राजनीतिक हतियार बनाइएको दाबी गरेका छन्।
स्थानीय मतदाताहरूले भने निर्वाचन विकास, सुशासन र स्थिरताका मुद्दामा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन्। पाण्डेले पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सुधारका योजना सार्वजनिक गरिसकेको बताएका छन्।
फागुन २१ को निर्वाचनले पर्सा–३ को राजनीतिक दिशा मात्र नभई नयाँ पुस्ताको नेतृत्वप्रतिको जनविश्वास कति बलियो छ भन्ने पनि तय गर्ने देखिएको छ।

