“लोकप्रियताभन्दा काममा विश्वास” — संरचनागत परिवर्तनको एजेन्डासहित उम्मेदवारको घोषणा
काठमाडौं — प्रतिनिधिसभा सदस्यका उम्मेदवार रुपेश कुमार पाण्डेले आफू राजनीति लोकप्रिय हुनका लागि नभई काम गर्नका लागि आएको स्पष्ट पारेका छन्। उनले आफ्नो व्यक्तिगत एजेन्डा सार्वजनिक गर्दै नाराभन्दा संरचनागत परिवर्तनमा जोड दिएका छन्।
उनका अनुसार प्राथमिकतामा किसान र कृषि क्षेत्रको रूपान्तरण रहेको छ। साना किसानले उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता, मलखाद तथा सिँचाइको सहज व्यवस्था र बजार व्यवस्थापन सुधारलाई मुख्य लक्ष्य बनाइएको छ।
त्यसैगरी शिक्षा र स्वास्थ्य क्षेत्रको आधुनिकीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले शिक्षामा प्रविधि र सीपमूलक कार्यक्रम विस्तार तथा स्वास्थ्य चौकीहरूको स्तरोन्नति गरी गुणस्तरीय सेवा सुनिश्चित गर्ने योजना प्रस्तुत गरेका छन्।
उम्मेदवारले युवालाई नेपालमै सम्मानजनक रोजगारी र सीपको अवसर सिर्जना गर्ने, महिलालाई नेतृत्व र निर्णय प्रक्रियामा वास्तविक सहभागिता गराउने तथा जेष्ठ नागरिकका लागि समुदाय–आधारित सहयोग र सम्मानजनक व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्।
साथै, सांसद निर्वाचित भए नियमित जन–प्रतिवेदन सार्वजनिक गर्ने र प्रत्यक्ष जवाफदेहितालाई प्राथमिकता दिने बताएका छन्।
“म नारा होइन, संरचना बनाउन चाहन्छु। म भीड होइन, भविष्यसँग उभिन चाहन्छु,” उनले भने, “यदि राजनीति सेवा हो भने, म त्यसलाई अभ्यासमा देखाउन चाहन्छु।”

