आयोगसमक्ष बालेन्द्र शाहको स्पष्टीकरण : “मेरो फेसबुकमा ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने शब्द थिएन”
काठमाडौँ — काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले आयोगसमक्ष आफ्नो स्पष्टीकरण दिँदै सामाजिक सञ्जालमा आफूले “सिंहदरबार जलाइदिन्छु” भन्ने शब्द प्रयोग नगरेको बताएका छन्।
उनका अनुसार भदौ २३ र २४ गते आफू लैनचौरस्थित सरकारी निवासमै रहेका थिए। २३ गते भएको शान्तिपूर्ण र्यालीप्रति समर्थन रहे पनि आफू प्रत्यक्ष रूपमा सहभागी नभएको उनले स्पष्ट पारे। सोही दिन व्यवसायीहरूको आग्रहमा महानगर प्रहरीमार्फत पानी वितरण गरिएको पनि उनले उल्लेख गरे।
शाहका अनुसार साँझतिर अवस्था तनावग्रस्त बन्दै गएको जानकारी सञ्चार माध्यमबाट प्राप्त भएपछि उनले सामाजिक सञ्जालमार्फत संयमता अपनाउन अपिल गरेका थिए, जसले स्थिति नियन्त्रणमा सहयोग पुगेको दाबी उनले गरे।
२४ गतेको घटना दुःखद भएको बताउँदै उनले त्यसअघि अत्यधिक बल प्रयोगले अवस्था थप बिग्रिएको हुन सक्ने संकेत गरे। घटनापछि घाइते र प्रभावित परिवारलाई महानगरले समन्वय गरेर सहयोग गरेको पनि उनले जानकारी दिए।
उनले आफ्नो फेसबुक अभिव्यक्ति प्रतीकात्मक मात्र रहेको दोहोर्याउँदै “जलाइदिन्छु” भन्ने शब्द प्रयोग नभएको स्पष्ट पारे।

