लागूऔषधसहित २ जना पक्राउ : पर्सामा प्रहरीको सक्रियताले अवैध कारोबारमाथि ठूलो प्रहार
वीरगञ्ज — जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषध विरुद्ध सञ्चालन गरिरहेको खोजी तथा नियन्त्रण अभियानअन्तर्गत दुई जनालाई लागूऔषधसहित पक्राउ गर्न सफल भएको छ। विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–३१ क्षेत्रमा शंकास्पद अवस्थामा मोटरसाइकलमा सवार व्यक्तिहरूलाई रोकी चेकजाँच गर्दा लागूऔषध फेला पारेको हो।
प्रहरीका अनुसार ना ३१ प ७५२ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिई जाँच गर्दा उनीहरूले लुकाईछिपाई राखेको लागूऔषध (खैरो हिरोइन जस्तो देखिने पदार्थ) बरामद गरिएको छ। पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–३२ का २० वर्षीय राहुल सिंह र बारा सिम्रौनगढ नगरपालिका–९ का १९ वर्षीय नन्दन गुप्ता रहेका छन्।
उनीहरूको साथबाट करिब ८ ग्राम ४० मिलिग्राम लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि लागूऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि अभियानलाई अझ सशक्त बनाउने बताउँदै यस्ता अवैध गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई अनुरोध समेत गरेको छ।

