मधेश प्रदेश प्रहरी कार्यालयमा डीआईजी अधिकारीलाई स्वागत, डीआईजी थपलियालाई बिदाइ
जनकपुरधाम, असार ३ — मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम प्रसाद अधिकारीलाई स्वागत तथा सरुवा भई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी जान लाग्नुभएका डीआईजी गोबिन्द थपलियालाई बिदाइ गर्दै “स्वागत तथा फेरि भेटौँला कार्यक्रम” सम्पन्न भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौँको मिति २०८३ जेठ २९ गतेको निर्णयअनुसार मधेश प्रदेश प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हाल्न आउनुभएका डीआईजी अधिकारीलाई स्वागत गरिएको हो।
कार्यक्रममा बोल्दै सरुवा भई जान लाग्नुभएका डीआईजी गोबिन्द थपलियाले मधेश प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहँदाका अनुभव, कार्यालयबाट सम्पन्न भएका कार्य तथा मातहतका प्रहरी कर्मचारीहरूको सहयोग र सहकार्यको स्मरण गर्दै सबैप्रति धन्यवाद तथा प्रशंसा व्यक्त गर्नुभयो। उहाँले नवआगन्तुक प्रमुख डीआईजी अधिकारीलाई सफल कार्यकालको शुभकामना समेत दिनुभयो।
त्यसैगरी, नवआगन्तुक डीआईजी ओम प्रसाद अधिकारीले डीआईजी थपलियाको योगदानको प्रशंसा गर्दै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा कर्मचारीहरूले समेत दुवै प्रहरी नेतृत्वप्रति शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।

