समाचार लेखेकै कारण यात्रा डेलीका सञ्चारकर्मीसँग दुव्र्यवहार, प्रहरीमा उजुरी
वीरगञ्ज, असार ३ – समाचार प्रकाशन गरेको विषयलाई लिएर वीरगञ्जस्थित अनलाइन सञ्चारमाध्यम यात्रा डेली डटकमका सञ्चारकर्मीमाथि दुव्र्यवहार भएको घटना सार्वजनिक भएको छ। समाचारप्रति असन्तुष्टि जनाउँदै केही व्यक्तिहरू कार्यालयमै पुगेर गालीगलौज, धम्की तथा आक्रमणको प्रयास गरेको आरोप लागेको हो।
यात्रा डेली डटकममा असार २ गते प्रकाशित “वीरगञ्जका चार ब्युटी पार्लरमाथि कारबाही” शीर्षकको समाचारप्रति असन्तुष्टि जनाउँदै वीरगञ्ज महानगरपालिका–६ घण्टाघर चोकस्थित हेयर ट्याग सैलुनमा कार्यरत हरिकिशोर साहसहित ८ देखि १० जनाको समूह रानीघाटस्थित यात्रा डेलीको कार्यालय पुगेको बताइएको छ।
यात्रा डेली प्रालिका अध्यक्ष राम सर्राफका अनुसार उक्त समूहले कार्यालयमा प्रवेश गरी समाचारमा आफ्नो सैलुनको नाम किन उल्लेख गरिएको भन्दै सञ्चारकर्मी तथा कर्मचारीमाथि गालीगलौज, धम्की र दुव्र्यवहार गरेको थियो। उनीहरूले कार्यालयको वातावरण नै असुरक्षित बनाउने गरी व्यवहार गरेको आरोप लगाइएको छ।
घटनापछि शान्ति सुरक्षाको माग गर्दै हरिकिशोर साहसहित संलग्न व्यक्तिहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरिएको अध्यक्ष सर्राफले जानकारी दिएका छन्। उनका अनुसार दर्ता नम्बर १७६६४ अन्तर्गत उजुरी दर्ता गरी घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कानुनी कारबाहीको माग गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले यात्रा डेलीको कार्यालयमा पुगेर सञ्चारकर्मीमाथि दुव्र्यवहार गरिएको सम्बन्धमा लिखित उजुरी प्राप्त भएको पुष्टि गरेका छन्। उनले उजुरीका आधारमा घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
सूचना अधिकारी बस्नेतले कुनै समाचारप्रति असहमति भए कानुनी प्रक्रिया अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै सञ्चारकर्मीलाई डर–त्रास देखाउने वा दबाब दिने कार्य स्वीकार्य नहुने बताए। उनले घटनामा संलग्न व्यक्तिहरूलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस घटनापछि सञ्चारकर्मीहरूको सुरक्षा, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताको विषय पुनः चर्चामा आएको छ। पत्रकार तथा सञ्चार संस्थाहरूले समाचार सामग्रीप्रति असन्तुष्टि भए कानुनी बाटो रोज्नुपर्ने र सञ्चारकर्मीमाथि धम्की तथा दुव्र्यवहारका घटना दोहोरिन नदिन सम्बन्धित निकायले कडा कदम चाल्नुपर्ने बताएका छन्।

