प्रहरी कार्यसम्बन्धी समीक्षा गोष्ठी–२०८३ सम्पन्न, सेवा प्रवाह र सुरक्षा व्यवस्थाबारे समीक्षा
जनकपुरधाम, असार २५ — नेपाल प्रहरीको कार्यसम्पादन, शान्ति सुरक्षा र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रहरी कार्यसम्बन्धी समीक्षा गोष्ठी–२०८३ सम्पन्न भएको छ।
बिहीबार तालुक नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित गोष्ठीमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी, मधेश प्रदेशअन्तर्गतका जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।
गोष्ठीमा मधेश प्रदेशको समग्र सुरक्षा अवस्था, प्रहरी कार्यसम्पादन, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सेवा प्रवाह तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको जनाइएको छ।
कार्यक्रममा प्रहरी संगठनलाई अझ जिम्मेवार, प्रभावकारी र नागरिकमैत्री बनाउने विषयमा आवश्यक निर्देशन तथा सुझावसमेत दिइएको थियो।

