अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कडा चेतावनी दिएका छन्। ट्रम्पले भनेका छन्, ‘यदि डेल्सी रोड्रिगेजले भेनेजुएलाका लागि अमेरिकाले उचित ठानेको काम गरिनन् भने उनको अवस्था मादुरोको भन्दा पनि बढी खराब हुन सक्छ।’ ट्रम्पले यो कुरा ‘द एटलान्टिक’ म्यागजिनलाई दिएको अन्तर्वार्तामा बताएका हुन्।
ट्रम्पले आइतबार भेनेजुएला सञ्चालनका लागि एक विशेष टोली बनाइएको जानकारी दिएका छन्। यस टोलीमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पीट हेगसेथ र अन्य उच्च अधिकारीहरू समावेश हुनेछन्। यो टोलीले भेनेजुएलामा शान्ति सुरक्षा कायम राख्न, सरकारी संस्थाहरूलाई पुन: सञ्चालनमा ल्याउन, तेल, ऊर्जा र सुरक्षा जस्ता महत्त्वपूर्ण क्षेत्रहरूलाई स्थिर बनाउन र संक्रमणकाल सम्हाल्न मदत गर्नेछ ।

