श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौंका मेयर बालेन शाह दुवैलाई पराजित गर्ने बताएका छन्। उनले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा आफ्नो पार्टीले दुवै जनालाई ‘पाहा पछारेझैँ’ पछार्ने दाबी गरेका छन्।
साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘हामी केपी ओली र बालेन दुवैलाई झापा–५ मा पाहा पछारेझैँ पछार्नेछौँ ! जति नै भ्रमको अन्धकार छर, म आएर बोलेपछि एकै सेकेन्ड तिमीहरूको भ्रम टिक्नेवाला छैन।’
- पछिल्लो समय एमाले अध्यक्ष ओलीको गृहक्षेत्र तथा ‘गढ’ मानिने झापा–५ मा काठमाडौंका मेयर बालेन शाहले उम्मेदवारी दिने चर्चा चलिरहेको छ। बालेन र ओलीबिच मुख्य प्रतिस्पर्धा हुने विश्लेषण भइरहँदा तेस्रो शक्तिका रूपमा उदाएका साम्पाङले पनि सोही क्षेत्रमा आफ्नो दाबी पेस गर्दै दुवैलाई चुनौती दिएका हुन् ।

