रौतहटमा दर्दनाक दुर्घटना : उम्मेदवार सवार गाडीको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु
रौतहट जिल्लामा भएको एक सवारी दुर्घटनामा ६ वर्षीय बालकको ज्यान गएको छ। रौतहट–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सगिर आलम सवार गाडीले ठक्कर दिँदा उक्त दुखद घटना भएको स्थानीयले बताएका छन्।
प्रत्यक्षदर्शीका अनुसार सडक किनारमा खेलिरहेका बालकलाई तीव्र गतिमा आएको गाडीले ठक्कर दिएको थियो। दुर्घटनापछि बालकलाई तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि उम्मेदवार आलम र गाडी चालक दुवै फरार भएको आरोप स्थानीय बासिन्दाले लगाएका छन्। दुर्घटनास्थलमा ठूलो संख्यामा स्थानीय भेला भई दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शनसमेत गरेका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु भइसकेको जानकारी दिएको छ। प्रहरीले गाडीको पहिचान गरी फरार चालक र संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र बनाइएको बताएको छ।
निर्वाचनको समयमा भएको यस घटनाले स्थानीय क्षेत्रमा तनावको अवस्था सिर्जना गरेको छ। मृतक बालकका परिवारजनले न्यायको माग गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन्। प्रहरीले निष्पक्ष छानबिन गरी वास्तविकता बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

