सरकारी शिक्षिकाद्वयको खुला चुनाव प्रचार: आचारसंहिता उल्लंघनमा प्रशासन मौन
वीरगन्ज, माघ २९ – वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह र पूर्वमन्त्री प्रदीप यादवकी श्रीमतीहरूले खुलेआम चुनाव प्रचारमा सहभागिता जनाएको विषयले विवाद चर्किएको छ। दुवै जना सरकारी विद्यालयमा कार्यरत शिक्षिका भए पनि ‘निर्वाचन आचारसंहिता २०८२’ विपरीत राजनीतिक प्रचारमा संलग्न भएको आरोप लागेको छ।
नगर प्रमुख सिंहकी श्रीमती अन्नपूर्णा देवी मानन्धर सुन्दरमल रामकुमार कन्या मावि, विर्ताकी तृतीय श्रेणीकी स्थायी शिक्षिका हुन् भने पूर्वमन्त्री यादवकी श्रीमती पिंकी यादव नेपाल राष्ट्रिय आधारभूत विद्यालय, मनियारीकी राहत शिक्षिका हुन्। उनीहरू नेकपा एमालेका पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवारको पक्षमा झण्डा र पम्पलेट बाँड्दै मत मागिरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
निर्वाचन आयोगद्वारा जारी आचारसंहिता २०८२ को दफा ७ अनुसार सरकारी कर्मचारी, शिक्षक तथा राष्ट्रसेवकलाई चुनाव प्रचारमा सहभागी हुन निषेध गरिएको छ। तर, यस विषयमा न महानगरपालिकाले औपचारिक छानबिन अघि बढाएको छ, न स्थानीय प्रशासनले कुनै सार्वजनिक प्रतिक्रिया दिएको छ।
महानगरको शिक्षा महाशाखाका निमित्त प्रमुख आनन्द लामिछानेले लिखित उजुरी आएमा आवश्यक प्रक्रिया अघि बढाइने बताए। उनले शिक्षा महाशाखाबाट प्रत्यक्ष कारबाही गर्ने प्रावधान नभएको स्पष्ट पारे।
स्थानीयवासीहरूले कानुन र नैतिकताको कुरा गर्ने नेताहरूका परिवारबाटै आचारसंहिता उल्लंघन हुनु गम्भीर विषय भएको प्रतिक्रिया दिएका छन्। चुनावी प्रतिस्पर्धाका बीच सार्वजनिक पदमा रहेका व्यक्तिका परिवारबाट देखिएको यस्तो गतिविधिले प्रशासनको निष्पक्षतामाथि प्रश्न उठाएको छ।

