‘IDEA’ मञ्च गठनका लागि चार दलबीच सहकार्य, आज अनामनगरमा घोषणा कार्यक्रम
काठमाडौं, माघ २९ – समावेशी, लोकतान्त्रिक, नैतिक तथा वैकल्पिक राजनीतिक सहकार्यको उद्देश्यसहित ‘IDEA’ (Inclusive, Democratic, Ethical & Alternative) मञ्च गठनका लागि विभिन्न दलहरू एकत्रित भएका छन्।
पिपुल्स फर्स्ट पार्टी, समावेशी–समाजवादी पार्टी, दलित गोलमेच सम्मेलन र गतिशील लोकतान्त्रिक पार्टीबीच आपसी सहकार्य गर्दै साझा राजनीतिक प्लेटफर्म निर्माण गर्ने सहमति भएको जनाइएको छ। आयोजक पक्षका अनुसार वर्तमान राजनीतिक अभ्यासप्रति बढ्दो असन्तुष्टि र समावेशी नेतृत्वको आवश्यकता महसुस गर्दै उक्त मञ्चको अवधारणा अघि सारिएको हो।
यस सम्बन्धमा औपचारिक घोषणा तथा अन्तरक्रिया कार्यक्रम आज (माघ २९ गते, बिहीबार) दिउँसो ठीक २ बजे अनामनगर मोडस्थित संवाद डबली, काठमाडौंमा आयोजना गरिएको छ।
कार्यक्रममा प्रशान्त सिंह, दिनेशराज प्रसाई, जावेद इकबाल हैदर, निसा अधिकारी र प्रतिक्षा चापागाई मुख्य वक्ताका रूपमा सहभागी हुनेछन्।
आयोजकहरूले नयाँ राजनीतिक संस्कार, नैतिक नेतृत्व र वैकल्पिक सहकार्यको दिशामा ‘IDEA’ मञ्च महत्वपूर्ण कदम हुने बताएका छन्।

