पर्सा–३ मा एमालेको “घर फर्किने अभियान” को प्रभाव, प्रह्लाद गिरी पुनः पार्टीमा
वीरगञ्ज – नेकपा एमाले को “घर फर्किने अभियान” ले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नयाँ ऊर्जा थपेको छ। यसै अभियान अन्तर्गत पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी पुनः पार्टीमा प्रवेश गरेका छन्। पोखरीयामा आयोजित कार्यक्रममा गिरीले औपचारिक रूपमा एमालेमा फर्किएको घोषणा गरेसँगै चुनावी माहोलमा नयाँ तरंग देखिएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गिरीको पुनः प्रवेशलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। पर्सा–३ बाट एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डे चुनावी मैदानमा रहेका बेला गिरीको साथ र सक्रियताले पार्टीलाई थप बल पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा नेताहरूले गिरीलाई खादा र टीका लगाएर स्वागत गरेका थिए। उपस्थित कार्यकर्ता तथा समर्थकहरूको उत्साहले क्षेत्रमा एमालेप्रति बढ्दो समर्थन देखिएको दाबी गरिएको छ।
कार्यक्रममा बोल्दै गिरीले वैचारिक निष्ठा, राजनीतिक स्थायित्व र समृद्ध नेपाल निर्माणको अभियानमा पुनः जोडिन आएको बताएका छन्। उनले पार्टीको नीति, सिद्धान्त र संगठनात्मक अनुशासनप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए।
गिरीको अनुभव, संगठनात्मक पकड र क्षेत्रीय प्रभावले पर्सा–३ को चुनावी समीकरणमा प्रभाव पार्न सक्ने आकलन गरिएको छ। विशेषगरी गाउँ–टोल तहसम्मको पहुँचले उम्मेदवार पाण्डेको अभियानलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।
सो अवसरमा पूर्व संविधानसभा सदस्य प्रधुमन चौहान, मधेस प्रदेश कमिटी सदस्य विजय चौरसिया, बिरेन्द्र यादव, पर्सा जिल्ला कमिटी उपाध्यक्ष मनोज गुप्ता, एमाले नेता प्रमोद जयसवाल, फर्मान मिया लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

