तेढा गाउँमा उज्यालो नेपालको घरदैलो: विकास र रोजगारी प्राथमिक एजेन्डा
पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)को उपस्थितिमा वीरगञ्ज महानगरपालिका–३२ तेढा गाउँमा उज्यालो नेपाल पार्टीको प्रवेश तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका क्रममा विभिन्न स्थानीय व्यक्तिहरू पार्टीमा प्रवेश गरेका थिए। उम्मेदवार सिंहले स्थानीय बासिन्दा तथा युवासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका गुनासा, सुझाव र अपेक्षाहरू सुने।
उनले गाउँ–टोलको समग्र विकास, नाला तथा सडक स्तरोन्नति, शिक्षा र स्वास्थ्य सेवाको सुधार तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। युवाहरूले रोजगारी अभावका कारण केही युवा लागुऔषधको चपेटामा परेको विषय उठाएपछि उनले निर्वाचित भए लगत्तै स्थानीय उद्योग तथा कलकारखानामा स्थानीय सक्षम जनशक्तिलाई प्राथमिकता दिने बताए।
साथै, वीरगञ्ज महानगरपालिका–२० मा निर्वाचित भएर काम गर्दा हासिल अनुभवलाई संघीय संसदसम्म पुर्याउँदै विकासका मुद्दाहरू सशक्त रूपमा उठाउने विश्वास व्यक्त गरे।
कार्यक्रमका क्रममा स्थानीयले पार्टी अध्यक्ष कुलमान घिसिङ जस्तै परिणाममुखी र काम गर्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उम्मेदवारलाई साथ दिने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा स्थानीय युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

