पर्सा–२ मा रास्वपाको घरदैलोप्रति मिश्रित प्रतिक्रिया, प्रतिबद्धतामै सीमित हुने आशंका
पर्सा — पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २४ रमगढवा र २५ सिरिसिया टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानु ले घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्। कार्यक्रममा समर्थकहरूको उपस्थिति देखिए पनि स्थानीय तहमा पुराना प्रतिबद्धता दोहोरिने मात्र हो कि भन्ने आशंका पनि व्यक्त गरिएको छ।
घरदैलोका क्रममा केही समूहले अबिर, गम्छा र फूलमालाले स्वागत गरे पनि कतिपय स्थानीयवासीले चुनावी वाचा कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका छन्। कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिने उम्मेदवारको भनाइप्रति मतदाताले “विगतमा पनि यस्तै आश्वासन सुनेको” प्रतिक्रिया दिएका छन्।
किसानहरूले मल अभाव, युवाहरूले रोजगारी संकट र सर्वसाधारणले आधारभूत सेवामा सुधार नआएको गुनासो दोहोर्याउँदै स्पष्ट कार्ययोजना माग गरेका छन्। चुनावी सरगर्मी बढ्दै जाँदा पर्सा–२ मा प्रतिबद्धता र व्यवहारबीचको अन्तर मुख्य बहसको विषय बन्ने देखिएको छ।

