मितेरी पुल घटनाबारे सशस्त्र प्रहरीको स्पष्टीकरण, पत्रकारमाथि दुर्व्यवहार नभएको दाबी
अभिलाष गुप्ता
वीरगञ्ज, २९ वैशाख
वीरगञ्जस्थित मितेरी पुल क्षेत्रमा सोमबार साँझ भएको तनावपूर्ण घटनाबारे सशस्त्र प्रहरी बलले आफ्नो धारणा सार्वजनिक गर्दै पत्रकारमाथि अभद्र व्यवहार, हातपात तथा गालीगलौज नभएको दाबी गरेको छ। साथै नियन्त्रणमा लिइएको मोबाइल तत्काल फिर्ता गरिएको समेत जनाएको छ।
सशस्त्र प्रहरी बल भन्सार गुल्म वीरगञ्जका डिएसपी बिकाश अधिकारीका अनुसार भारतीय अटोरिक्सा चालकहरूले प्रहरीमाथि हातपात तथा दुर्व्यवहार गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। घटनापछि थप प्रहरी परिचालन गरी चार जना भारतीय अटो चालक तथा चार वटा अटोरिक्सा नियन्त्रणमा लिइएको उनले बताए।
उनका अनुसार भीड अत्यधिक बढेपछि स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गर्नुका साथै भीडलाई भारततर्फ धपाउने कार्य गरिएको थियो। केही चालक भने घटनास्थलबाट भाग्न सफल भएका थिए।
पत्रकार सञ्जय कुशवाहाको मोबाइल खोसिएको विषयमा डिएसपी अधिकारीले बिना प्रेस कार्ड र प्रेस ज्याकेट फोटो तथा भिडियो खिचिरहेको अवस्थामा मोबाइल नियन्त्रणमा लिइएको बताए। पछि पत्रकारले आफ्नो परिचय दिएपछि मोबाइल फिर्ता गर्न खोजिएको तर “इन्चार्जसँगै मोबाइल लिन्छु” भनेपछि आफूलाई भेट्न बोलाइएको र तत्कालनै मोबाइल फिर्ता गरिएको उनको भनाइ छ।
घटनापछि सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थापन, पत्रकारको कार्यक्षेत्र र सुरक्षाकर्मीको व्यवहारबारे पुनः बहस सुरु भएको छ।

