विवादपछि गौतम माध्यमिक विद्यालय र अभिभावकबीच सहमति
वीरगञ्ज । वीरगञ्ज–१२ स्थित गौतम माध्यमिक विद्यालय मा प्रवेश परीक्षा सञ्चालनका क्रममा उत्पन्न विवाद अन्ततः विद्यालय प्रशासन र अभिभावक पक्षबीचको सहमतिसँगै समाधान भएको छ। दुवै पक्षले आपसी समझदारी कायम गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन्।
विद्यालयमा वैशाख २१ गते प्रवेश परीक्षा सञ्चालन भइरहेका बेला बाहिर नाला सफाइ अभियानसमेत चलिरहेका कारण विद्यालय परिसरमा अत्यधिक भीडभाड भएको थियो। सोही क्रममा केही छात्रा प्रवेश–कार्ड बिना विद्यालय पुगेपछि केही समय कक्षाबाहिर बस्नुपरेको विषयलाई लिएर अभिभावक र विद्यालय प्रशासनबीच विवाद उत्पन्न भएको बताइएको छ।
विद्यालय प्रशासनले परिस्थितिवश सहज व्यवस्थापन गर्न नसकिएको स्वीकार गर्दै छात्रा तथा अभिभावकमा परेको मानसिक असरप्रति दुःख व्यक्त गरेको छ। साथै आगामी दिनमा विद्यार्थी र अभिभावकसँग समन्वय तथा संवादलाई थप प्रभावकारी बनाइने जनाएको छ।
दुवै पक्षबीच भएको सहमतिपछि विवाद मिलापत्र भएको तथा विद्यालयको शैक्षिक वातावरणलाई सकारात्मक ढंगले अघि बढाइने जनाइएको छ।

