बिपिएस +2 कलेजमा कक्षा १२ का विद्यार्थीलाई भव्य बिदाई, एसएसपी कोईरालाको प्रेरणादायी सम्बोधन
अभिलाष गुप्ता
वीरगञ्ज, ०१ जेठ ।
वीरगञ्ज महानगरपालिका–९ रानिघाटस्थित बिपिएस +2 कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई भावपूर्ण वातावरणमा बिदाई गरेको छ। होटेल भिश्वामा आयोजित विशेष कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले आफ्ना सिनियर विद्यार्थीहरूलाई सम्मान तथा सफल भविष्यको शुभकामनासहित बिदाई गरेका हुन्।
पर्सा जिल्लाका प्रहरी प्रमुख शान्तीराज कोईराला को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम कलेजका एकेडेमिक डाइरेक्टर दीपक पटेलको अध्यक्षतामा भएको थियो। कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि तथा कलेज व्यवस्थापन टोलीले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए भने राष्ट्रिय गान प्रस्तुतिसँगै औपचारिक कार्यक्रम सुरु गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत–संगीत तथा नाटक प्रस्तुत गर्दै उपस्थित अतिथि, शिक्षक र अभिभावकहरूको मन जितेका थिए। सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई उत्साहपूर्ण र भावुक बनाएको सहभागीहरूले बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै एसएसपी कोईरालाले विद्यार्थी जीवनमा अनुशासन, मेहनत र लक्ष्यप्रतिको प्रतिबद्धता अत्यन्त आवश्यक रहेको बताए। उनले युवाहरूलाई सकारात्मक सोच, उच्च नैतिकता र समाजप्रति जिम्मेवार भावना राख्दै अघि बढ्न आग्रह गरे। “आजका युवा नै भोलिको देशका कर्णधार हुन्, त्यसैले अध्ययनसँगै चरित्र निर्माणमा पनि विशेष ध्यान दिनुपर्छ,” उनले बताएका थिए।
त्यसैगरी कलेजका एकेडेमिक डाइरेक्टर दीपक पटेलले बिदाइ हुने विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै गुणस्तरीय शिक्षा र अनुशासित वातावरण प्रदान गर्न कलेज निरन्तर लागिरहेको बताए। उनले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ जीवनको हरेक चुनौती सामना गर्दै अघि बढ्न प्रेरित गरे।
कार्यक्रममा कलेजका डाइरेक्टर सन्दीप कुशवाहा, प्रिन्सिपल प्रभात मेहता लगायत विभिन्न शिक्षक, सञ्चारकर्मी तथा समाजका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्य विद्यार्थीहरूबीच शुभकामना आदानप्रदान तथा सामूहिक तस्बिरसहित सम्पन्न भएको थियो।

