फ्लोर क्रसको डरले मधेसका मुख्यमन्त्रीले लिन सकेनन् विश्वासको मत, बैठक पटक–पटक सारियो
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले फ्लोर क्रस हुने डरका कारण विश्वासको मत लिन नसकेको अवस्था देखिएको छ। शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक समयमै बस्न नसकेपछि दुई पटकसम्म सारिएको हो।
प्रदेशसभा कार्यसञ्चालन नियमावलीअनुसार बैठक तोकिएको समयभित्र नबस्दा स्थगित गरी पुनः नयाँ समय तोक्ने व्यवस्था अनुसार सुरुमा दिउँसो १ बजेर १० मिनेटका लागि बैठक सारिएको थियो। तर उक्त समयभित्र पनि बैठक बस्ने अवस्था नदेखिएपछि फेरि स्थगित गर्दै सवा ३ बजेका लागि बैठक सारिएको छ।
मुख्यमन्त्री यादव नेपाली कांग्रेसबाट नेतृत्वमा रहेका हुन्। जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आजको बैठक तोकिएको थियो।
तर आफ्नै दल र जनता समाजवादी पार्टी नेपालभित्रै फ्लोर क्रस हुने सम्भावना देखिएपछि मुख्यमन्त्री छलफलमा जुटेका छन्। यसअघि पनि विश्वासको मतको प्रक्रियामा राजनीतिक असहजताका कारण अन्तिम समयमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आएको उदाहरण समेत रहेको छ।

