न्युरोडको गोदाममा प्रहरी छापा, २८ हजारभन्दा बढी भेप बरामद, एक जना पक्राउ
काठमाडौँको न्युरोडस्थित एक गोदाममा प्रहरीले छापा मारेर ठूलो परिमाणमा भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाको आधारमा सोमबार साँझ न्युरोडको आरबी कम्प्लेक्समा रहेको ‘स्माइल योर च्वाइस’ नामक पसल तथा त्यससँग सम्बन्धित दुई वटा गोदाममा एकैसाथ छापा मारेको हो।
छापामार कारबाहीका क्रममा प्रहरीले २८ हजार ५ सय थान भेप बरामद गरेको छ। बरामद सामग्रीलाई आवश्यक अनुसन्धानका लागि टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगिएको प्रहरीले जनाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का का अनुसार अवैध रूपमा भेपको कारोबार तथा सम्भावित तस्करी गतिविधिबारे सूचना पाएपछि छापा मारिएको हो।
प्रहरीले सोही घटनामा ललितपुर महानगरपालिका–८ घर भएका ३२ वर्षीय नवीन खड्कालाई पक्राउ गरेको छ। प्रारम्भिक अनुमानअनुसार बरामद गरिएको भेपको बजार मूल्य करिब ६ करोड रुपैयाँ बराबर हुन सक्ने बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

