मेयर राजेशमान सिंहले न्याय पाउने विश्वास व्यक्त, मुद्दा राजनीतिक प्रतिशोध भएको दाबी
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि दायर गरिएको नागरिकता प्रकरणसम्बन्धी मुद्दालाई लिएर उनको पक्षले राज्यले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएको छ। विशेष अदालतमा दायर भएको उक्त मुद्दा हाल विचाराधीन अवस्थामा रहेकाले अदालतबाट निष्पक्ष न्याय हुने विश्वास मेयर सिंहले व्यक्त गरेका छन्।
मेयर सिंह निकट स्रोतका अनुसार छोरीको नागरिकता बनाउने प्रक्रियासँग सम्बन्धित विषयलाई अनावश्यक रूपमा भ्रष्टाचारको मुद्दासँग जोडिएको भन्दै त्यसमा कुनै भ्रष्टाचारजन्य कार्य नदेखिएको दाबी गरिएको छ। उक्त विषय कानुनी र प्रशासनिक प्रकृतिको रहेको तथा त्यसको समाधान पनि कानुनी प्रक्रियामार्फत नै खोजिनुपर्ने उनीहरूको भनाइ छ।
स्रोतका अनुसार मेयर सिंहले नेपालको न्यायिक प्रणालीप्रति पूर्ण विश्वास राख्दै अदालतको निर्णयलाई सम्मान गर्ने धारणा व्यक्त गरेका छन्। उनी कानुनी उपचारका सबै वैधानिक प्रक्रियामा सहभागी भइरहेका छन् र अन्ततः सत्य तथा न्यायको जित हुनेमा विश्वस्त रहेको बताइएको छ।
अदालतमा विचाराधीन रहेको मुद्दामा कानुनी प्रक्रिया अगाडि बढिरहेका बेला विभिन्न पक्षबाट आएका प्रतिक्रिया र टिप्पणीप्रति संयम अपनाउन पनि मेयर पक्षले आग्रह गरेको छ। न्यायालयबाट अन्तिम फैसला नआउँदासम्म कसैलाई दोषी वा निर्दोष ठहर गर्न नहुने उनीहरूको धारणा छ।
मेयर सिंहका निकट स्रोतले चराचर खबरलाई दिएको जानकारीअनुसार, उनले न्यायिक प्रक्रियामार्फत आफ्नो पक्ष स्पष्ट पार्ने र अन्ततः न्याय प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्। मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म कानुनको दायराभित्र रहेर आफ्नो बचाउ जारी राख्ने उनको तयारी रहेको बताइएको छ।

