एसपी सुदीपराज पाठकको ९ महिने नेतृत्व : तस्करी नियन्त्रणदेखि अपराध अनुसन्धानसम्म प्रभावशाली परिणाम
वीरगञ्ज — नेपाल–भारत सीमासँग जोडिएको पर्सा जिल्लामा प्रहरी उपरीक्षक सुदीपराज पाठक को ९ महिने कार्यकाल परिणाममुखी देखिएको छ। तस्करी नियन्त्रण, लागुऔषधविरुद्ध अभियान, हत्या अनुसन्धान, फरार अपराधी पक्राउ तथा सामुदायिक प्रहरी कार्यक्रममार्फत पर्सा प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको छ।
प्रहरी तथ्यांकअनुसार यस अवधिमा ४३ करोड ९८ लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छली तथा अवैध सामान बरामद गरिएको छ। तस्करीमा प्रयोग भएका दर्जनौं सवारी साधनसमेत नियन्त्रणमा लिइएको छ।
लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ठूलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर तथा प्रतिबन्धित औषधि बरामद गरिएको छ भने दर्जनौं कारोबारी पक्राउ परेका छन्। ग्रामीण क्षेत्रमा लगाइएको लाखौं गाँजाका बोट फडानी गरी उत्पादनमै रोक लगाउने प्रयास गरिएको प्रहरीले जनाएको छ।
हुण्डी कारोबार, काठ तस्करी तथा मानव बेचबिखनविरुद्ध पनि निगरानी र कारबाही तीव्र पारिएको छ। यसैबीच चर्चित हत्या प्रकरणको अनुसन्धान गरी नेपाल बाहिर लुकेका आरोपीलाई भारतीय प्रहरीसँगको समन्वयमा पक्राउ गर्न सफल भएको घटनाले पर्सा प्रहरीको अनुसन्धान क्षमतालाई थप बलियो बनाएको छ।
फैसला कार्यान्वयन अभियानअन्तर्गत सयौं फरार प्रतिवादी पक्राउ परेका छन् भने विद्यालयस्तरीय सचेतना, स्वास्थ्य शिविर र सामुदायिक कार्यक्रममार्फत प्रहरी–नागरिक सम्बन्ध सुदृढ बनाउने प्रयाससमेत गरिएको छ।
सीमावर्ती तथा संवेदनशील जिल्ला पर्सामा एसपी पाठकको नेतृत्वमा भएको सक्रियता र परिणामले उनको कार्यकाललाई प्रभावकारी र चर्चित बनाएको छ।

