मधेश प्रदेशमा अपराध अनुसन्धान सुदृढ बनाउन प्रदेशस्तरीय समीक्षा गोष्ठी सम्पन्न
जनकपुरधाम, जेठ २९ — मधेश प्रदेशमा अपराध अनुसन्धानलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने उद्देश्यले आयोजित “प्रदेश स्तरीय एक दिवसीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३” जनकपुरधाममा सम्पन्न भएको छ।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश, नेपाल प्रहरीका उच्च अधिकारीहरू, जिल्ला प्रहरी प्रमुखहरू, सरकारी वकिल, नेपाल राष्ट्र बैंकका प्रतिनिधि तथा सञ्चारकर्मीसहित २०२ जनाको सहभागिता रहेको थियो।
गोष्ठीमा मधेश प्रदेशको अपराध अनुसन्धानको वर्तमान अवस्था, अनुसन्धानमा देखिएका चुनौती, कानुनी जटिलता, अनुसन्धानकर्ताबीच समन्वय तथा अनुसन्धानको प्रभावकारिता अभिवृद्धिका उपायबारे व्यापक छलफल गरिएको थियो। साथै प्रदेशमा अपराध नियन्त्रण र अनुसन्धानलाई थप प्रभावकारी बनाउने रणनीतिबारे समेत अन्तरक्रियात्मक समीक्षा गरिएको थियो।
कार्यक्रमको समापन मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाको धन्यवाद ज्ञापनसँगै भएको थियो।

