विद्यार्थीमा योगप्रति जागरण: वीरगञ्जमा लायन्स क्लबद्वारा योग शिविर आयोजना
वीरगञ्ज, २९ जेठ । विद्यार्थीहरूमा योगप्रतिको रुचि बढाउँदै स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीले एकदिने योग शिविर सम्पन्न गरेको छ।
नवदिप एकेडेमीमा आयोजित शिविरको उद्घाटन डिष्ट्रिक्ट गभर्नर लायन राम बिहारी पाण्डेले गरेका थिए। उनले योगलाई स्वस्थ, अनुशासित र सकारात्मक जीवनको आधारका रूपमा व्याख्या गर्दै नियमित अभ्यासले तनाव तथा विभिन्न स्वास्थ्य समस्याबाट बच्न मद्दत पुग्ने बताए।
क्लबकी अध्यक्ष लायन शुशिला साहले विद्यालय तहदेखि नै योग संस्कृतिको विकास आवश्यक रहेको उल्लेख गर्दै योग र ध्यानले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।
योग गुरु लालबहादुर महतो कोइरीले विद्यार्थीहरूलाई विभिन्न योगासन, प्राणायाम तथा ध्यानका अभ्यास गराउँदै दैनिक जीवनमा योग अपनाउन प्रेरित गरेका थिए। उनले नियमित योग अभ्यासले स्वास्थ्यसँगै अध्ययनमा समेत सकारात्मक प्रभाव पार्ने बताए।
कार्यक्रममा विद्यार्थी र शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले योगका विभिन्न विधि सिक्नुका साथै यसको महत्वबारे जानकारी प्राप्त गरेका थिए। कार्यक्रमको सञ्चालन क्लबकी सचिव लायन कविता क्षेत्रीले गरेकी थिइन्। आयोजकका अनुसार शिविर सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको हो।

