कालिकामाई गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कुटपिट, कर्मचारीहरूको आन्दोलनको चेतावनी
पर्सा, साउन २३ – कालिकामाई गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कार्यालय समयमै भएको कुटपिट तथा दुर्व्यवहारको घटनाको विरोध गर्दै गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा कार्यालयभित्र जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि भएको आक्रमण सम्पूर्ण कर्मचारी समुदायको सुरक्षा र सुशासनमाथिको चुनौती भएको उल्लेख गर्दै दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरिएको छ।
ज्ञापनपत्रमा घटनामा संलग्न रहेको आरोप लागेका दिनेश प्रसाद कोइरीका छोरा राजनिश कुशवाहा, वडा नं. ३ का वडा अध्यक्ष संजय कुमार पटेल, वीरेन्द्र कुशवाहा, हिरो पटेल, सञ्जय कुशवाहा, मैनोदिन आलम, धनिलाल पटेल र विकास कुशवाहालाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरिएको छ।
कर्मचारीहरूले सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति गर्न, दोषीमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न तथा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी व्यवस्था गर्न प्रशासनसँग माग गरेका छन्।
माग सम्बोधन नभएसम्म कालिकामाई गाउँपालिकाका सम्पूर्ण कर्मचारी जिल्ला प्रशासन कार्यालय पर्सामा धर्ना बस्ने तथा आवश्यक परे पेन डाउन आन्दोलन गर्ने चेतावनी पनि ज्ञापनपत्रमार्फत दिएका छन्।

