बिरगञ्ज पब्लिक कलेजमा शिक्षक सशक्तीकरण अभियान, चारदिने क्षमता अभिवृद्धि तालिमको शुभारम्भ
वीरगञ्ज, असार २५।
वीरगञ्जस्थित बिरगञ्ज पब्लिक कलेजमा शिक्षकहरूको नेतृत्व क्षमता, व्यावसायिक दक्षता तथा गुणस्तरीय शिक्षण–सिकाइलाई थप प्रभावकारी बनाउने उद्देश्यले चारदिने शिक्षक क्षमता अभिवृद्धि तालिम सुरु भएको छ।
कलेजका सम्पूर्ण शिक्षकहरूको सहभागिता रहेको तालिमको उद्घाटन कलेजका संस्थापक डा. दीपक शाक्य, डा. अर्बिन्द श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा गरिएको हो। कलेजका अनुसार तालिम लगातार चार दिनसम्म सञ्चालन हुनेछ।
तालिममा दिगो विकासका लक्ष्य, सामाजिक प्रभाव, परियोजना निर्माण, आत्म–नेतृत्व, सहकार्यात्मक नेतृत्व, प्रभावकारी सञ्चार, रचनात्मक सुझाव तथा प्रतिक्रिया, समूहमा काम गर्ने सीप, सकारात्मक सोच, परिवर्तन व्यवस्थापन, नैतिक मूल्य, स्पष्ट उद्देश्य, समन्वय, प्रतिबद्धता र व्यक्तिगत रूपान्तरणजस्ता विषयमा प्रशिक्षण प्रदान गरिनेछ।
यसका साथै सभ्य रोजगारी, आर्थिक समृद्धि, उद्योग तथा नवप्रवर्तन, पूर्वाधार विकास, जलवायु संरक्षण, जैविक विविधता संरक्षण, जिम्मेवार उत्पादन तथा उपभोग, शान्ति, न्याय, सबल संस्था निर्माण तथा दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक साझेदारीका विषयमा समेत छलफल र व्यावहारिक अभ्यास गराइने कलेजले जनाएको छ।
कलेज प्रशासनका अनुसार तालिमले शिक्षकहरूको नेतृत्व क्षमता, सिर्जनशीलता, सहकार्य गर्ने दक्षता तथा विद्यार्थी–केन्द्रित शिक्षण पद्धतिलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। तालिमपछि सहभागी शिक्षकहरूले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै शिक्षण प्रक्रियालाई अझ आधुनिक, अनुसन्धानमुखी, प्रभावकारी र परिणाममुखी बनाउने विश्वास कलेजले व्यक्त गरेको छ।

