निर्मला प्रकरणबारे प्रश्न नसोध्न गृहमन्त्रीको आग्रह, पूरक प्रश्नको जवाफ दिन अस्वीकार
काठमाडौं, २१ साउन — निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणबारे राष्ट्रिय सभामा उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले संसद्मा पटक–पटक यो विषय नउठाउन सांसदहरूलाई आग्रह गरेका छन्।
बिहीबारको प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्तको जघन्य हत्या प्रकरणमा लामो समय बितिसक्दा पनि दोषी पत्ता लाग्न नसकेको विषयमा सरकारसँग जवाफ मागेका थिए। उनले वर्तमान सरकार गठन भएको साढे चार महिना बितिसक्दा पनि छानबिन समितिले निष्कर्षमा पुग्न नसकेको भन्दै निर्मलाले कहिले न्याय पाउने भनेर प्रश्न गरेका थिए।
जवाफमा गृहमन्त्री गुरुङले अनुसन्धानको प्रगति विवरण प्रस्तुत गर्नुको सट्टा विगतमा सत्तामा रहेका दललाई प्रतिप्रश्न गर्दै ‘तपाईंहरू सत्तामा हुँदा किन नगर्नुभएको ?’ भन्ने प्रश्न गरेका थिए।
गृहमन्त्री गुरुङले निर्मला पन्तको विषय संसद्मा बारम्बार उठाउनु पीडित परिवारको घाउ कोट्याउनुजस्तै हुने टिप्पणीसमेत गरे। उनले संवेदनशील विषयलाई संसद्मा उठाइरहनुभन्दा सूक्ष्म अनुसन्धान गरेर परिणाम दिनुपर्ने बताए।
उनले राष्ट्रिय सभा र प्रतिनिधि सभामा अब निर्मला पन्तको मुद्दा नउठाउन सांसदहरूलाई आग्रह गर्दै थप जानकारी आवश्यक भए सार्वजनिक रूपमा प्रश्न उठाउनुको सट्टा आफूलाई व्यक्तिगत रूपमा भेटेर जानकारी लिन सुझाए।
तर, गृहमन्त्रीको जवाफपछि सांसद विश्वकर्माले नियमावलीअनुसार पूरक प्रश्न सोध्नु सांसदको अधिकार र त्यसको जवाफ दिनु मन्त्रीको दायित्व भएको स्मरण गराए। त्यसपछि पनि गृहमन्त्री गुरुङले पूरक प्रश्नको जवाफ दिन अस्वीकार गर्दै आफू त्यसको उत्तर दिन नचाहेको स्पष्ट पारे।
गृहमन्त्री गुरुङले गृह मन्त्रालयले हत्या, हिंसा तथा बलात्कारजस्ता गम्भीर अपराधको चरणबद्ध र सूक्ष्म अनुसन्धान गरिरहेको दाबी गरे। उनले शान्ति–सुरक्षा कायम गर्न सरकार निरन्तर सक्रिय रहेको पनि संसद्मा बताएका छन्।
निर्मला पन्तको हत्या तथा बलात्कार प्रकरण लामो समयदेखि अनुसन्धान र न्यायको प्रतीक्षामा रहेको विषय हो। घटनामा दोषी पहिचान हुन नसकेको भन्दै पीडित परिवार तथा विभिन्न पक्षबाट पटक–पटक सरकारमाथि प्रश्न उठ्दै आएको छ।

