जिल्ला प्रशासन कार्यालय पर्सामा छड्के अनुगमन, सेवाग्राहीलाई दुःख दिए कारबाही गर्ने सीडीओ दाहालको चेतावनी
वीरगञ्ज, २१ श्रावण।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्ला प्रशासन कार्यालय पर्सामा छड्के अनुगमन गर्दै सेवाग्राहीलाई सरल, सहज, छिटो–छरितो र प्रभावकारी सेवा उपलब्ध गराउन कर्मचारीलाई कडा निर्देशन दिएका छन्।
अनुगमनका क्रममा सीडीओ दाहालले सेवा लिन आउने नागरिकलाई अनावश्यक रूपमा कुराउने, झन्झट दिने वा कुनै पनि बहानामा दुःख दिने कार्य स्वीकार्य नहुने स्पष्ट पारे। उनले कानुनले तोकेको समयसीमाभित्रै सेवाग्राहीलाई सेवा उपलब्ध गराउन निर्देशन दिएका हुन्।
सरकारी कार्यालयप्रति नागरिकको विश्वास कायम राख्न सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र सेवामुखी बनाउनुपर्नेमा जोड दिँदै दाहालले ढिलासुस्ती, लापरवाही वा गैरजिम्मेवार व्यवहार देखिए सम्बन्धित कर्मचारीमाथि आवश्यक कारबाही गरिने चेतावनीसमेत दिए।
उनले सेवाग्राहीसँग शिष्ट, मर्यादित र जिम्मेवार व्यवहार गर्न कर्मचारीलाई निर्देशन दिँदै सार्वजनिक सेवामा अनुशासन, इमान्दारिता र कार्यकुशलता अपरिहार्य रहेको बताए।
छड्के अनुगमनका क्रममा विभिन्न शाखाको सेवा प्रवाह, कर्मचारीको उपस्थिति तथा सेवाग्राहीलाई उपलब्ध गराइएका सुविधाको अवस्थाबारे जानकारी लिइएको थियो। अनुगमनका क्रममा देखिएका कमीकमजोरी तत्काल सुधार गर्न सम्बन्धित शाखाका कर्मचारीलाई निर्देशन दिइएको जनाइएको छ।
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारीद्वय कृष्ण थापा र कृष्ण चौलागाईको समेत सहभागिता रहेको थियो। जिल्ला प्रशासन कार्यालय पर्साले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउन आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

