स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगञ्जबाट चार जना पक्राउ
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट स्रोत नखुलेको ठूलो रकमसहित चार जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ५२ लाख ५० हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
सोमबार साँझ करिब ६ः३० बजे आदर्शनगर क्षेत्रमा प्रहरीले प्रदेश २–०३–००३ प ७२१५ नम्बरको कालो सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको निलो एफजेड मोटरसाइकल रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा दुवै मोटरसाइकलमा सवार चार जनाको साथबाट स्रोत खुल्न नसकेको ठूलो रकम फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत बिहारको सीतामढी जिल्ला, डुमरा थाना–६ बस्ने २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ बस्ने ३२ वर्षीय उपेन्द्र साह, सोही स्थानका २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको विन्दवासिनी गाउँपालिका–१ झौवागुठी बस्ने २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन्।
प्रहरीका अनुसार सुरज कर्णको साथबाट १ लाख रुपैयाँ, उपेन्द्र साहको साथबाट १८ लाख १६ हजार रुपैयाँ, सागरकुमार सर्राफको साथबाट १८ लाख ३४ हजार रुपैयाँ र राहुलकुमार गुप्ताको साथबाट १६ लाख रुपैयाँ बरामद भएको हो।
बरामद रकममा १ हजार दरका ४ हजार ५ थान नोटबाट ४० लाख ५ हजार रुपैयाँ, ५ सय दरका २ हजार ३ सय ५३ थान नोटबाट ११ लाख ७६ हजार ५ सय रुपैयाँ, १ सय दरका ६ सय ४३ थान नोटबाट ६४ हजार ३ सय रुपैयाँ र ५० दरका ८४ थान नोटबाट ४ हजार २ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
घटनाबारे पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्र ,बहादुर मल्लले रकमको स्रोत तथा उक्त रकम कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनका अनुसार प्रारम्भिक चेकजाँचका क्रममा रकमको स्पष्ट स्रोत खुल्न नसकेपछि चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको हो।
डीएसपी चक्र बहादुर मल्लका अनुसार बरामद नगदको वास्तविक स्रोत, रकम ओसारपसारको उद्देश्य तथा पक्राउ परेकाहरूबीचको सम्बन्धलगायतका विषयमा समेत अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट थप तथ्य खुलेपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
प्रहरीले बरामद नगदसहित चारै जनालाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ।

