मधेसमा पर्यटन प्रवर्धन र लगानी सुरक्षाका लागि व्यवसायीको मन्त्री पटेलसँग ध्यानाकर्षण
महोत्तरी । मधेस प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरूले पर्यटन प्रवर्धन, लगानीको सुरक्षा तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेलको ध्यानाकर्षण गराएका छन्।
महोत्तरीको लालगढस्थित गौतम होटलमा आयोजित अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले अनुगमनका क्रममा देखिएको ‘छापामार शैली’प्रति असन्तुष्टि जनाउँदै अनुगमनलाई सुधारात्मक, समन्वयात्मक र पूर्वसूचनासहित बनाउन माग गरेका छन्।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ (FONHATE) मधेस प्रदेशको संयोजन तथा NATTA र HAN मधेस प्रदेशको सहकार्यमा आयोजित कार्यक्रममा व्यवसायीहरूले पर्यटन पूर्वाधार, लगानी सुरक्षा, व्यवसाय सञ्चालनमा सहजता र अनुगमन प्रणाली सुधारका विषयमा मन्त्री पटेलसमक्ष विभिन्न सुझाव राखेका थिए।
FONHATE मधेस प्रदेशका संस्थापक महासचिव तथा NATTA मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेले व्यवसायीका माग तथा सुझाव समेटिएको ध्यानाकर्षण पत्र मन्त्री पटेललाई हस्तान्तरण गरे।
कार्यक्रममा मन्त्री पटेलले निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन क्षेत्रमा लगानी सुरक्षित गर्ने प्रतिबद्धता जनाउँदै पूर्वसूचनासहितको अनुगमन प्रणालीलाई प्राथमिकता दिने बताए।
उनले मधेसको धार्मिक, सांस्कृतिक तथा स्थानीय पहिचानलाई पर्यटनसँग जोड्दै मार्ट, एक्स्पो, स्ट्रीट फेस्टिभल, क्रस–बोर्डर B2B कार्यक्रमलगायत गतिविधिमार्फत प्रदेशलाई आकर्षक पर्यटन गन्तव्य बनाउने योजना अघि बढाइने बताए।

