मधेशमा प्रदेश प्रहरी गठनको प्रक्रिया तीव्र
धनुषा, २७ साउन । गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोको पहलमा मधेश प्रदेशमा प्रदेश प्रहरी गठन र सञ्चालनका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया तीव्र पारिएको छ।
प्रदेश प्रहरी सेवा ऐन, २०७५ र प्रदेश प्रहरी नियमावली, २०७७ लाई आधार बनाएर प्रहरी समायोजन, जिम्मेवारी तथा कार्यसम्पादनसम्बन्धी व्यवस्था थप स्पष्ट बनाउने काम अघि बढाइएको हो।
मन्त्री महतोको संयोजकत्वमा गठित कानून मस्यौदा तथा परिमार्जन समितिले प्रदेश प्रहरी नियमावलीका १ देखि १४८ सम्मका विषयमा छलफल गरी आवश्यक सुझाव र परिमार्जन गरेको जनाएको छ।
नेपाल प्रहरी र प्रदेश प्रहरीले गर्ने कार्य, सञ्चालन, सुपरिवेक्षण तथा समन्वयसम्बन्धी विधेयक र प्रहरी कर्मचारी समायोजनसम्बन्धी विधेयकसमेत प्रक्रियामा रहेका छन्।
समितिबाट तयार कानुनी कागजात संघीय गृहमन्त्री सुदन गुरुङलाई हस्तान्तरण गरिएको बताइएको छ। प्रदेश प्रहरी गठनको प्रक्रिया अघि बढेसँगै मधेशमा प्रहरी प्रशासनको अधिकार, जिम्मेवारी र संघ–प्रदेश समन्वय थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

