पर्साका मतदानस्थलको सुरक्षा अवस्था बुझ्न प्रजिअ दहालसहित सुरक्षा प्रमुखहरू फिल्डममा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लाका मतदानस्थलहरूको सुरक्षा अवस्थाबारे अनुगमन तथा निरीक्षण कार्यलाई तीव्रता दिइएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालको नेतृत्वमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू सम्मिलित टोलीले जिल्लाका विभिन्न मतदानस्थलहरूको स्थलगत निरीक्षण गरेको हो। टोलीले मतदान केन्द्रहरूको भौतिक अवस्था, सुरक्षाको संवेदनशीलता, पहुँच मार्ग तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिएको छ।
निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन सुरक्षा रणनीति तयार पार्ने उद्देश्यले अनुगमन गरिएको प्रजिअ दहालले जानकारी दिए। उनले निर्वाचन अवधिभर जिल्लामा सुरक्षा व्यवस्था कडा पारिने र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
सुरक्षा निकायका प्रमुखहरूले मतदानस्थलमा आवश्यक जनशक्ति परिचालन, गस्ती व्यवस्थापन तथा आपतकालीन योजनाबारे समेत छलफल गरेका छन्। निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा सुरक्षा सतर्कता थप मजबुत बनाइँदै लगिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

