वीरगञ्जमा ३५ सय लिटर तयारी घरेलु मदिरासहित ४ जना पक्राउ
पर्सा प्रहरीले वीरगञ्जमा ३५ सय लिटर तयारी घरेलु मदिरा बरामद गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले वीरगञ्ज–१५ प्रतिमा चोकबाट सवारी साधनमा लुकाएर लैजाँदै गरेको अवस्थामा करिब २१ सय लिटर घरेलु मदिरा बरामद गरेको हो।
त्यसैगरी, सोही अपरेसनका क्रममा वीरगञ्ज–१५ त्रिशूल चोकमा अवैध रूपमा भण्डारण गरी राखिएको करिब १३ सय लिटर घरेलु मदिरा समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
मदिरासहित ४ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

