-
मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले आफ्नो कार्यकालभर किसानका समस्याको समाधानका लागि दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनी भन्छन्, “म आफैँ किसानको छोरा हुँ, त्यसैले किसानका पीडा र समस्या मलाई राम्ररी थाहा छ”। मन्त्री पटेलले संघीय कानुनको कारण प्रदेशमा किसानका समस्या समाधानका लागि काम गर्न बाधा अड्चन भएपनि त्यसको बाबजुद आफ्नो कार्यकालभर किसानका समस्याको समाधानका लागि दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री पटेलले मधेस प्रदेशलाई कृषि क्षेत्रमा नमुना बनाउने लक्ष्यसहित सुझाव लिने काम भइरहेको बताए। उनी भन्छन्, “म मन्त्री होइन, तपाईँहरूको भाइ हुँ। भाइ सम्झेर खुलेर सल्लाह दिनुहोस्, प्रदेशको हितमा हुने सबै सल्लाह कार्यान्वयन गर्नेछु”। उखु किसानको समस्याबारे पनि गुनासो आएको जनाउँदै मन्त्री पटेलले त्यसको समाधानका लागि मन्त्रालय स्तरमै छलफल अघि बढाएको पनि बताए ।

