- पर्सा–१ मा जनमत पार्टीको उत्साहजनक उपस्थिति
माघ १० गते, वीरगन्ज ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ को नगवा दक्षिण टोलमा जनमत पार्टीले आयोजना गरेको चुनावी कार्यक्रम उल्लेखनीय सहभागिताका साथ सम्पन्न भएको छ। कार्यक्रममा युवा उम्मेदवार ओमप्रकाश सरार्फलाई स्थानीयवासीहरूले न्यानो स्वागत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सरार्फले नगवा र वडा नम्बर–१६ लाई विगतमा नेताहरूले भोट बैंकका रूपमा मात्र प्रयोग गरेको आरोप लगाए। नगवा र इनर्वालाई योजनाबद्ध रूपमा विभेद गरिएको भन्दै अब त्यसको अन्त्य गर्ने समय आएको उनले बताए। आफ्नो चुनाव चिन्ह ‘हरन छाप’मा मतदान गरी निर्वाचित गराए वडा नम्बर–१६ को समग्र विकास र कायापलट गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
राजनीति तथा सामाजिक गतिविधिमा लामो समयदेखि सक्रिय आफू युवाहरूको सशक्तिकरणका लागि निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै सरार्फले जेन्जी पुस्ताको समर्थन र उत्साह आफ्नो मुख्य शक्ति रहेको बताए। अन्य उम्मेदवारहरू अलमलमा देखिएको बेला आफू निरन्तर घरदैलो तथा निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त रहेको उनको भनाइ थियो।
जनमत पार्टीका बुथ इन्चार्ज किरण चौर्सियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिध्यालाल प्रसाद, निराजन कुशवाहा, भुपेन्द्र साह, सत्युह साह, सहनवाज राकी लगायत पार्टीका नेता–कार्यकर्ता तथा स्थानीयहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

