चुनावी प्रचार तीव्र: सम्पर्क कार्यालय उद्घाटनसँगै रुङ्गटाको मत माग्ने शैलीमाथि प्रश्न
वीरगन्ज महानगरपालिका वडा नं. १६ इनर्वामा आजदेखि नेपाली कांग्रेस क्षेत्र नं. १ का उम्मेदवार अनिल कुमार रुङ्गटाको सम्पर्क कार्यालय सञ्चालनमा आएको छ। उम्मेदवार रुङ्गटाले एक समारोहका बीच रातो रिबन काटेर कार्यालय उद्घाटन गर्नुभएको हो।
कार्यालय उद्घाटनलगत्तै उहाँले इनर्वाका मतदातासँग घरदैलो अभियान सुरु गर्दै नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ छापमा मतदान गर्न आग्रह गर्नुभयो। तर चुनाव नजिकिँदै गर्दा गरिएको यो कार्यक्रमलाई स्थानीयहरूले स्वाभाविक राजनीतिक गतिविधिभन्दा बढी प्रचारमुखी कदमका रूपमा टिप्पणी गर्न थालेका छन्।
कतिपय मतदाताले क्षेत्रका वर्षौंदेखिका समस्या समाधानका ठोस योजना नदेखाई केवल मत माग्नमै सीमित रहेको भन्दै असन्तुष्टि जनाएका छन्। विकासका ठूला एजेन्डाभन्दा प्रचार–प्रसारमा बढी जोड दिइएको हो कि भन्ने प्रश्न पनि उठ्न थालेको छ।
चुनावी समयमा खोलिएका यस्ता सम्पर्क कार्यालयहरू वास्तविक जनसेवाका लागि हुन् कि केवल भोट तान्ने रणनीति मात्र, त्यो भने चुनावपछिको गतिविधिले स्पष्ट पार्नेछ।

