दाइजोविरुद्ध उदाहरणीय कदम – प्रियंका दासद्वारा भाइको विवाह बिना दहेज सम्पन्न
नेपाली समाजमा लामो समयदेखि जरा गाडेर बसेको दाइजो प्रथालाई चुनौती दिँदै नेपाली कांग्रेसकी समानुपातिक उम्मेदवार तथा सामाजिक अभियन्ता प्रियंका दासले आफ्ना भाइको विवाह पूर्ण रूपमा दाइजोबिना सम्पन्न गराएकी छन्। उनको यस निर्णयलाई सामाजिक रुपान्तरणतर्फको साहसिक र प्रेरणादायी पहलका रूपमा लिइएको छ।
बागमती प्रदेशको राजधानी हेटौंडामा आज हिन्दु परम्परा अनुसार कृष्ण दासको विवाह धुमधामका साथ सम्पन्न भएको हो। विवाह समारोह अत्यन्त सरल, सभ्य र मर्यादित वातावरणमा सम्पन्न भयो, जहाँ दुवै परिवारबीच कुनै प्रकारको लेनदेन नगरी आपसी सम्मान र समझदारीलाई प्राथमिकता दिइएको थियो।
कार्यक्रमका क्रममा नेतृ दासले विवाह केवल दुई व्यक्तिको सम्बन्ध मात्र नभई समाजलाई सकारात्मक सन्देश दिने अवसरसमेत भएको बताइन्। उनले भनिन्, “दाइजो प्रथा सामाजिक विकृति हो। यसको अन्त्यका लागि हामीले परिवर्तनको सुरुवात आफ्नै घरबाट गर्नुपर्छ।”
विगत १३ वर्षदेखि बारा जिल्लामा विश्वास एफएम सञ्चालन गर्दै समाजलाई सुसूचित गराउँदै आएकी दास नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्षसमेत हुन्। उनले आफ्नो एक मात्र भाइको विवाह दहेजरहित रूपमा सम्पन्न गराउने आफ्नो सपना आज साकार भएको भन्दै खुशी व्यक्त गरिन्।
उनको यो कदमले दाइजो प्रथाविरुद्ध संघर्ष गरिरहेका धेरै परिवारलाई हौसला प्रदान गर्ने र सामाजिक सुधारका लागि नयाँ प्रेरणा दिने विश्वास गरिएको छ।

