- रास्वपाको रोजाइमा सुशील साह कानु – चासो र प्रश्न किन?
वीरगन्ज – पर्सा जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा कुल १०७ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये क्षेत्र नं. २ बाट सुशील साह कानुले दिएको उम्मेदवारी यतिबेला सबैभन्दा बढी चर्चाको विषय बनेको छ।
वीरगन्ज महानगरपालिका वडा नं. १० का पूर्व वडाध्यक्ष कानु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेपछि राजनीतिक वृत्तमा तरंग सिर्जना भएको हो। उनीसँग लामो समय सहकार्य गरेका महानगरका अन्य वडाध्यक्षहरू समेत यो निर्णयबाट आश्चर्यचकित भएका छन्।
महानगरभित्र ‘सलाई रेन्च’ उपनामले चिनिने कानु रास्वपाबाट उम्मेदवार बन्नु नै धेरैका लागि अप्रत्याशित बनेको छ। सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कारको वकालत गर्ने रास्वपाले विवादास्पद छवि भएका व्यक्तिलाई टिकट दिनु आफैंमा प्रश्नयोग्य भएको स्थानीय नेताहरूको टिप्पणी छ।
वीरगन्जका एक वडाध्यक्षले भने, “अवसरवादी छवि भएका व्यक्तिलाई रास्वपाजस्तो पार्टीले उम्मेदवार बनाउँछ भन्ने सोचेका पनि थिएनौं।”
राजनीतिक पृष्ठभूमि हेर्दा कानु २०७४ को स्थानीय निर्वाचनमा पराजित भएपछि तत्कालीन नगरप्रमुख विजय सरावगीसँग नजिकिएर विभिन्न भूमिकामा सक्रिय भएका थिए। महानगरभित्र आर्थिक प्रभाव र पहुँच विस्तार गर्दै आएका कानु २०७९ को निर्वाचनमा भने वडा नं. १० बाट निर्वाचित भएका थिए।
आलोचकहरूका अनुसार उनले आफ्नो आर्थिक प्रभावको बलमा यसपटक प्रतिनिधिसभा चुनाव जित्ने योजना बनाएका छन्। पहिला मधेसवादी भावनाको आडमा राजनीति गरेका कानु अहिले युवापुस्तालाई लक्षित गर्दै रास्वपामा प्रवेश गरेको आरोप समेत लागेको छ।
“पद र स्वार्थअनुसार पार्टी बदल्ने प्रवृत्ति उनमा देखिएको छ,” स्थानीय एक राजनीतिक विश्लेषक भन्छन्, “रास्वपाले कुन आधारमा उनलाई उम्मेदवार बनायो, त्यो अझै स्पष्ट छैन।”
यद्यपि कानु आफू जित सुनिश्चित रहेको दाबी गर्दै चुनावी अभियानमा सक्रिय छन्। तर हालसम्म उनले क्षेत्र विकासका ठोस योजना सार्वजनिक नगरेको भन्दै मतदातामाझ आलोचना पनि भइरहेको छ।
पर्सा क्षेत्र नं. २ मा यदि उनले जित हासिल गरे भने त्यो व्यक्तिगत लोकप्रियताभन्दा रास्वपाको लहर र आर्थिक प्रभावको परिणाम हुने धेरैको बुझाइ छ।
यस घटनाले रास्वपाको उम्मेदवार छनोट प्रक्रिया र मापदण्डमाथि गम्भीर बहस सुरु गराएको छ।

